अबिशेक र आकृतिलाई लिएर ‘कुमारी’ बनाउदै दिनेश राउत

१४ भदौ २०८२ ८:३७

निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ बनाउने भएका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरिएको हो।

उक्त कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ।

चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन्।

यो चलचित्रको छायांकन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्।

सुसन प्रजापतिको छायांकन निर्देशन रहने यो चलचित्रका कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *