पशुपतिमा पूजा गर्दै ‘३६ को आँकडा’ घोषणा

१ भदौ २०८२ ५:५८

सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘३६ को आँकडा’को अफिसियल घोषणा गरिएको छ। शनिबार पशुपति मन्दिरमा शुभसाइत पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो।

यो चलचित्र अभिनेत्री रेखा थापाको होम प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको छ। रेखाले त्यसअघि सामाजिक संजालबाट चलचित्रको पहिलो झलक सार्वजनिक गरेकी छन् । पोस्टरमा रेखा र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ ।

यो चलचित्रको प्रमुख भूमिकामा रेखा र पूजाले अभिनय गर्नेछन् । चलचित्रको पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।

भोलि सोमबारदेखि छायांकन सुरु गरिने यो चलचित्रको पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।

चलचित्रको शुभसाइत पूजा गर्दै अभिनेत्री थापाले भनिन्, ‘हरेक घरभित्र सुक्ष्म किसिमको महाभारत चलिरहेको छ । प्रेमपूर्वक प्रदर्शन हुँदैछ । सबै ‘३६ को आँकडा’ झगडा मात्र होइन, त्यहाँ प्रेम पनि हुन्छ ।’

यो चलचित्रमा महेश त्रिपाठी र पुष्प खड्का रेखा थापा र पूजा शर्माको जोडीको रुपमा रहने जनाइएको छ। निर्देशक श्रेष्ठ र अभिनेत्री थापाले यसअघि रामप्यारी, तथास्तु, काली, इशारा, कसले चोर्‍यो मेरो मन लगायतका चलचित्रमा सहकार्य गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *