फिल्म प्रचारमा ‘रिमै’ टिम

२८ साउन २०८२ ५:५४

भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को व्यापक प्रचार सुरु गरिएको छ । यसैक्रममा गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा चलचित्रको टिमको सक्रिय सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएर चलचित्रको व्यापक प्रचार गरेको हो।

यो चलचित्रका कलाकार, निर्माता तथा निर्देशकलगायतका सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी थिए । त्यस्तै, आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र चलचित्रको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सहभागीलाई चलचित्रप्रति आकर्षित पारेका थिए ।

निर्देशक खिल बहादुर गुरुङले चलचित्रमार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै, र्‍यालीमा सहभागी दर्शक तथा समर्थकले ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै चलचित्र हेर्ने उत्सासहित रहेको बताए।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, वीरवल घले कार्यकारी निर्माता, टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *