हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा रिलिज गरिएको यो चलचित्रको ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष प्रस्तुत छ।
कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ । चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ ।
पारिवारिक कथामा निर्माण गरिएको यो चलचित्र भदौ ६ गते रिलिज हुँदैछ । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।