‘अभिमन्यु’को इमोस्नल गीत ‘माली’

२१ साउन २०८२ ४:३२

भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ‘माली’ बोलको गीत सार्वजनिक भएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ ।

यो गीतमा दाजु र बहिनीबीतको निश्चल सम्बन्ध र जिम्मेवारी र दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ । बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ । माली बनेर बहिनीको रेखदेख गर्ने दाजु र बहिनीको कथा बोलेको गीतले दर्शकको मन छुन्छ ।

गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । ‘हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं,’ निर्माण टिमले भनेको छ, ‘उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ ।’

असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा हिन्दी भर्सन वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता, मदन घिमिरेको सम्पादन, शरद महतोको डिओपी, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *