मोहर: देश दौडामा पल, फिल्मले पायो ‘पीजी’ सर्टिफिकेट

२० साउन २०८२ ५:२१

यहि साउनको २३ गतेबाट रिलिज हुने चलचित्र ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह चलचित्रको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागी भएका उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । चलचित्रको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।

नायक शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग चलचित्र हेर्न आग्रह गरेका थिए । दर्शकहरुले पनि चलचित्रको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरू ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन् । पोखरामा पनि पलले चलचित्रको गीतमा दर्शकसँग नृत्य गर्नेछन् ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।

देउकी प्रथाको कथामा आधारित यो चलचित्रको सेन्सर समेत भएको छ । चलचित्र सेन्सर बोर्डले यो फिल्मलाई ‘पिजी सर्टिफिकेट’ दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ । यो चलचित्रको प्रचार सामाग्रीले दर्शकको माया पाइरहेका कारण बक्स अफिसमा फिल्मले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *