अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘जलाकी’को दुई वटा पोस्टर सार्वजनिक भएको छ। यो चलचित्रको पहिलो चरणको छायांकन सकिएसंगै निर्माणपक्षले यसको पोस्टर सार्वजनिक गरेको हो।
असोजको २१ गतेबाट दोस्रो चरणको छायांकन हुने यो चलचित्रको सार्वजनिक दुई पोस्टरमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई स्थान दिइएको छ । एक पोस्टरमा उपासना धिरजसँग रोमान्टिक छिन् भने अर्को एक पोस्टरमा उनलाई केही भावुक देखिएको छ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, वुद्दि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारहरूको अभिनय छ । यही चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली फिल्म क्षेत्रमा पाइला चाल्दैछन् भने अन्य केही कलाकारहरूको छनोट कार्य भइरहेको निर्माणपक्षले जनाएको छ ।
शैलेन्द्र डी कार्कीको डीओपी रहेको ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो चलचित्रको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा गरि तीन चरणमा हुने निर्माणपक्षले बताएको छ ।
एम मिडिया प्रालिको व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा ओम घर्ती मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीको लगानी छ ।