दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ । शुक्रबार रिलिज भएको यो चलचित्रको पोस्टरमा यसका मुख्य कलाकारहरू फिचर्ड छन्।
कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको फस्टलुक पोस्टर उमंग र खुशीले भरिएको छ। पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको बुझिन्छ।
निर्माणपक्षका अनुसार, यो चलचित्र ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । चलचित्र उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताउछन्।
चलचित्रलाई मिलन तामाङले निर्देशन गरेका हुन्। रविन शेरचन र धिरज तामाङको लगानी रहेका चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताका रुपमा छन् ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ ।
रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ । निर्माता रोहितले यसअघि निर्माण गरेको ‘गाजलु, छ माया छपक्कै, फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।