गुन्यु चोलो ट्रेलर: तेस्रोलिंगी महिलाले गरेको संघर्षको कथा
१६ साउन २०८२ ११:३६
आगामी भदौ १३ गते रिलिज हुने चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्षको कथा ट्रेलरमा प्रस्तुत छ।
आफ्नो लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ । आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नौ बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवाहार र दिने तनावलाई ट्रेलर प्रष्ट पारेको छ ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्रले लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथा भन्छ । यो चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ।
नेपालको पहिलो पूर्ण रुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तरराष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी र आलोक शुक्लाको डीओपी छ ।