कर्णालीको पीडा बोकेको ‘रेलको बाटो’ घोषणा

१६ साउन २०८२ ७:५९

लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने चलचित्र ‘रेलको बाटो’ बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण हुने यो चलचित्रले कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थाको कथा बोल्नेछ।

यो चलचित्रको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र मुनि “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ठूलो ब्यानर देखिन्छ। उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ।

सार्वजनिक पोस्टरमा देखिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ। सुरज पण्डितको संगीत, निसाल पौडेलको छायांकन, कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।

यो चलचित्रले सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाउनेछ। कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू फिल्मको मुख्य कथा हुने जनाइएको छ।चलचित्रको वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *