यहि श्रावणाको २३ गते जनैपूर्णिमाबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’ले दर्शकप्रति आशा जगाएको छ। यो चलचित्रको गीत र केहि दिन अगाडि रिलिज गरिएको हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो अझै बढ्दै गएको हो।
विशेषगरी, यो चलचित्रको गीत ‘झुम्का कानैमा’ र ट्रेलरले निकै उत्कृष्ट प्रतिक्रिया पाएको छ भने चलचित्रले राम्रो हाइप क्रेट गरेको छ। साथै, यो चलचित्रको गीत र संवादमा टिकटक पनि उत्तिकै बनेका छन्।
चलचित्रको प्रचारात्मक सामाग्री र गीत र ट्रेलरले पाएको दर्शकको बलियो साथको आधारमा भन्ने हो भने चलचित्रले सोचेभन्दा अझै राम्रो ब्यापार गर्ने पक्का छ।
चलचित्रले नेपाली समाजमा व्याप्त पारिवारिक झमेलाहरू, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य र व्यङ्ग्यका साथ प्रस्तुत गर्नेछ । गाउँले परिवेशमा आधारित चलचित्रले सामान्य समस्याहरूमा मानिसहरूले भोग्ने कठिनाइहरू देखाउँदै दर्शकलाई हँसाउनसाथै सोच्न बाध्य पार्ने सामाजिक सन्देश दिनेछ।
माओवादी द्वन्द्वको कथा चलचित्रले भन्छ। चलचित्रमा नायक सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका छ। साथमा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मालगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्।