अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा सन्तोष कुमार आत्रेयले निर्देशन गरेको चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।
यो चलचित्रको ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै सम्पुर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ। निर्माणपक्षका अनुसार, यो चलचित्रको छायांकन कुनै बाधा-अड्चन बिना सम्पन्न गरिएको हो। अब यो चलचित्रको पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिने निर्माणपक्षको तयारी छ।
चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।
यो चलचित्रको स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । त्यस्तै, कार्यकारी निर्माता सम्भू थापा, सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।