सुशान्त गौतमले निर्देशन गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरेको दुईवटा पोस्टरमा खुसी र तनाव प्रस्तुत छ। एउटा पोस्टरमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् ।
त्यस्तै, अर्को पोस्टर चलचित्रका मुख्य दुई कलाकार कामेश्वर र लक्ष्मी छन् । कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् । निकै खुसी झल्किएको दुवैको चेहरा र लक्ष्मीको गेटअपले उनीहरू नवविवाहित जोडी जस्तो देखिन्छन् ।
भदौ २७ गते रिलिज हुने यो चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मुकेश खनालको लेखन, निर्माता विनोद पौडेल र गुञ्जन गिरी, रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।