आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’काे ‘म त सुतेर उठेको पैसामा’ गीतले यसको हाइप क्रेट गरेको छ। ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
यो चलचित्रको अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक भइसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले निकै राम्रो साथ र माया पाएको हो।
यो चलचित्रका निर्देशक ऋषि लामिछाने हुन्। उनका अनुसार, ‘यो गीतसँगै हामी चलचित्रको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।
निर्माण घोषणासँगै चर्चामा रहेको यो चलचित्रको प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् ।
मुनाल घिमिरेको निर्माणमा तयार भएको चलचित्रमा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत र सामीप्य राज तिमल्सेनाको लेखन रहेको छ।