राज बहादुर साने निर्देशित चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको छ।
ट्रेलरको सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ । यो चलचित्र आगामी साउन २३ गते जनैपूर्णिमा बाट प्रदर्शनमा आउनेछ।
सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । यो चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा बन्दे प्रसादको सम्पादन रहेको चलचित्रलाई दिव्य सुवेदीले खिचेका हुन् ।