आगामी भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । सार्वजनिक मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ । त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन् । टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ ।
मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ । चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।