‘होस्टेल ३’को समूहबाट ‘होस्टेल अगेन’ घोषणा

६ साउन २०८२ ११:३१

चलचित्र ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरेको छ । आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टरले चलचित्रको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो चलचित्र ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । ‘होस्टेल’को नाम भए पनि ‘अगेन’ थपिनु र पोस्टरको प्रकृतिले ‘होस्टेल ३’ बाट कथावस्तुको निरन्तरता छ वा छैन भन्ने स्पष्ट नभए पनि यसले ‘होस्टेल’ ब्रान्ड अन्तर्गतकै अर्को कथालाई प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

चलचित्रमा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।

‘होस्टेल’ सिरिज, जसको पहिलो भाग २०७० मा हेमराज बिसी र दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ २०७२ मा सुरज भुसालले निर्देशन गरेका थिए । ‘होस्टेल ३’ गत वर्षको फागुन २३ गते रिलिज भएको थियो । ‘होस्टेल अगेन’ छायाङ्कन छिट्टै सुरु हुने बताइएको छ ।

यसअघि यही समूहले ‘बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो, तर कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *