काजी लिम्बु र अञ्जन शर्माको संयुक्त निर्देशन रहने चलचित्र ‘जदौ’को घोषणा गरिएको छ । जातीय विभेद तथा भेदभावका कारण अन्तरजातीय प्रेम जोडी तथा दम्पतीले भोग्नु परेको समस्याको कथा यो चलचित्रले भन्नेछ।
बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो चलचित्रका मुख्य कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले चलचित्रमा समावेश एक गीतको स्थायी वाचन गरे । जसले, यो चलचित्रको कथा झल्काएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्रको टाइटल अनावरण गरेका थिए । चलचित्रमा ऋचा शर्मा, अनिल सुब्बा, सीपी पुडासैनी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । चलचित्रको छायांकन दाङ र प्युठानमा हुने निर्माणपक्षले बताएको छ ।
सिल्भर इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने यो चलचित्र आगामी भदौबाट छायांकनमा जानेछ। चलचित्रमा श्याम तामाङको छायांकन, बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ ।