‘जनै हराएको मान्छे’ सपना, संघर्ष र प्रेमको कथा

३१ असार २०८२ ५:१७

निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।

सपना, संघर्ष, प्रेम र धोकाले भरिएको टिजरमा कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने उल्लेख छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।

भदौ ६ गते रिलिज हुने चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

चलचित्रमा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *