विल्सन विक्रम राईको निर्देशन रहने चलचित्र ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर यो चलचित्रको लागि अनुबन्धित भइसकेका छन्।
दिया यो चलचित्रको मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईले भने,‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं । अन्य कलाकार पनि छानिँदैछन्।’
‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माणपक्षले जनाएको छ । केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ । चलचित्रको छायांकन साउन पहिलो साताबाट ईलाम र पाँचथरका रमणीय स्थानहरूमा हुनेछ ।
निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो । यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो । ‘मैझारो’ मार्फत कम्पनीले ठुलो पर्दामा फिचर फिल्ममा पाइला टेक्न लागेको हो ।