दीपेन्द्र लामाको निर्देशन रहने नयाँ चलचित्र ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहने यो चलचित्रमा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् ।
‘चलचित्रको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय चलचित्र ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जकचलचित्रका रुपमा तयार पार्ने सोचमा छन् ।
पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको चलचित्र ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । कटवालले पछिल्लोपटक चलचित्र ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए ।
निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ ।
अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर निकै नै उत्साही छन्। कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा चलचित्रको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।