‘दान्भी’ निर्देशक रुपेश तामाङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘एक्का तीन’ राखिएको छ ।
सुमन गजमेरको लेखन रहने यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । चलचित्रको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । चलचित्रको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।
थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो चलचित्रको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।
प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको यसपटक चलचित्रमा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका चलचित्रमा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर यो चलचित्र निर्देशन गर्ने रुपेश बताउँछन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।