आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को निर्माणपक्ष अहिले व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।
यसैबीच, चलचित्रमा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ चलचित्रको राम्रो हाइप बनाउन सफल देखिएका छन् । चलचित्रमा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले चलचित्र हेर्न व्यग्र रहेको प्रतिक्रिया समेत दिएका छन् ।
विशेषगरी दर्शकले चलचित्रको टिजरलाई औधी रुचाएको पाइन्छ । चलचित्रको निर्देशक राज बहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामाग्री गीत र ट्रेलर उत्कृष्ट दिनु पर्ने चुनौती थपिएको बताउँछन् । चलचित्रका दुवै प्रचार सामाग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माताद्धय भुगोल कार्की र विकासराज जोशीको छ ।
चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र दिव्य सुवेदीले खिचेका हुन् ।