तक्मे प्रोडक्सनको ब्यानरमा चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो।
यो चलचित्रमा लेखन तथा निर्देशन विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। दर्जनौ चलचित्रमा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा हात हालेका हुन्। चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्।
सौरभ लामाले खिच्ने यो चलचित्रको साउनको पहिलो हप्ताबाट छायांकन हुनेछ। निर्देशक राईले यो चलचित्रको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए। उनका अनुसार यो चलचित्रले सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ।
उनी लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।