नीताको ‘सुख–दुख’लाई एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्ने

२३ असार २०८२ ९:०१

अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाले निर्देशन गर्ने गर्ने चलचित्र ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो। कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी चलचित्रमा छायाँकारका रूपमा काम गरिसकेका छन्।

शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो।

त्यस्तै, यो चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ।
चलचित्रको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन्।

नीता फिल्म्सको व्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ। यसअघि नीता ढुङ्गानाले चलचित्र ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *