गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको हो ।
चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन् । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।
महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८/१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५–४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला र ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
असार १६ गतेदेखि १८ गतेसम्म प्रत्येक दिन दिउँसो १ बजेबाट ६ बजेसम्म कलाकार छनोटका लागि अडिसन हुनेछ । अडिसन नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगलमा सञ्चालन हुने बताइएको छ ।
इच्छुक कलाकारहरूले पोस्टरमा उल्लेख गरिएको QR कोड स्क्यान गरेर फारम भर्न सक्नेछन् । थप जानकारीका लागि इमेल ([email protected]) वा फोन (+९७७९७०८०२२२०९) मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
पाथीभरा इन्टरटेनमेन्ट र अक्टोवर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ ।