रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा गायक रामकृष्ण ढकालले निर्माण गर्ने चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । प्रकु पाण्डेयले निर्देशन गर्ने यो चलचित्रका निर्माणपक्षले बराल र राउतसँग शुक्रवार कागजी सम्झौता गरेका हुन् ।
यो चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन् । चलचित्रमा रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले सङ्गीत दिनेछन् ।
यो चलचित्रलाई पारिवारिक प्रेमकथामा निर्माण गरिने जनाइएको छ। यो चलचित्रको छायाङ्कन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । साथै उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए ।
यस चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन् । उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी यस पटक निर्माताको भूमिकामा आएका हुन् ।