पछिल्लो समय नेपालका चर्चित मानिएका कमेडी शोहरु ‘कमेडी दरबार र कमेडी नाइट्स विथ च्याम्पियन’मा पूर्व राजाको क्यारिकेचर निकै बढेको छ । कमेडी शोहरुमा गरिने क्यारिकेचरका कारण कलाकारहरुलाई धम्की समेत आउने गरेको छ।
त्यस्तै, कलाकार प्रभात लामाले ‘कमेडी नाइट्स विथ च्याम्पियन’को पछिल्लो श्रृङ्खलामा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिकामा काम गर्दा आफूलाई धम्की आएको बताएका छन्। उनले आफूलाई धम्की आएको भन्दै सामाजिक संजालमा एउटा स्टाटस समेत पोस्ट गरेका छन् ।
उनले लेखेको पोस्ट गरेको स्टाटस यस्तो छ,-‘म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननिय प्रधानमन्त्रीको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु । पूर्व राजाको क्यारिकेचर गर्दा के गलत भयो ? तपाइको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुहोस्, तपाइको राजा ल्याउँदै गर्नुहोस् ।’
कलाकार प्रभातले चुनौती दिदै ‘क्षमता र ल्याकत’ राख्ने भए गरेर देखाउन र जातभातको कुरा नगर्न चेतावनी पनि दिएका छन् । हास्यव्यङ्ग्यमा कलाकारहरुले कसैको क्यारिकेचर गर्दैमा कसैको मान मर्दन नहुने उनि बताउछन्।
प्रभातले अगाडि लेखेका छन्–‘व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा मेरो हजुरबुबा समान हुनुहुन्छ । उहाँलाई गर्नुपर्ने सम्मान र आदर उस्तै छ । मलाई राम्ररी थाहा छ कि पूर्व राजार्लाइ कुन सम्मान दिनुपर्ने हो भनेर । व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ । त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला । कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र तयार पारिएको हो ।’
प्रभातले कलाकारको कामलाई त्यसरी नै हेरिदिन र कमेडीलाई कमेडीकै नजरबाट वुझिदिन आग्रह गरेका छन् ।