निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो चलचित्र ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । मंगलबार यो चलचित्रका निर्माणटिमले केदारसँग कागजी संझौता गरेका हुन् ।
कृषा र केदारले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । चलचित्रमा केदार अनुवन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो चलचित्रमा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई चलचित्रमा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’
यो चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् ।
मल्टिस्टारर कलाकारहरु रहने यो चलचित्रमा अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ ।
यसअघि यो चलचित्रमा जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । चलचित्रले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।