निर्देशक माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । यो चलचित्रको लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।
साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको यो चलचित्रमा कलाकार सुनिल थापालाई पनि अनुबन्धित गरिएको छ । निर्देशक चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा यो चलचित्र निर्माण हुनेछ। नायक सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक चलचित्रको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । चलचित्रमा महेश पौडेलको डीओपी रहनेछ ।