आगामी साउन १६ गतेबाट देशाभार प्रदर्शन हुने चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ ।
नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता-कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर गलत मनसाय बोकेका व्यक्तिहरूको फन्दामा परेका युवाहरूको मार्मिक दृश्यहरू देखाएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गरेको छ ।
विभोर पोखरेलको निर्देशनमा बनेको यो चलचित्रले वैदेशिक रोजगारीको कठोर यथार्थको कथा प्रस्तुत गर्छ। चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको लेखन प्रदीप भारद्वाजको हो । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ, जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ ।
यो चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिनेछ । गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
यो चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले निर्माण गरेको यो चलचित्रको भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको हो।