लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुति रहेको यो चलचित्रको दुई पोष्टर सार्वजनिक गर्दै फागुनको १ गतेलाई प्रदर्शन मिति तय गरिएको हो ।
लक्ष्मण सुनारको कथा र निर्देशन रहेको चलचित्रमा महेश दवाडीको लेखन छ । चलचित्र ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन्। सामाजिक कथावस्तुका चलचित्र निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ भने अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारती प्रस्तुत छन् ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।
लोभको कथा प्रस्तु गर्ने यो चलचित्रले मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई पेस गर्छ ।
चलचित्रमा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन, आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको छ।