सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथा यो चलचित्रले पेश गर्नेछ।
सिमसोन तामाङले निर्देशन गर्ने चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् । आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै अफिसियल घोषणा गरिएको हो । पोस्टरको थिम युरोपको देश पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ ।
चलचित्रमा लोक बहादुर तामाङ निर्माताको रूपमा छन् र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । पौडेलले यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ चलचित्रको निर्देशन गरेका थिए ।
निर्देशक सिमसोन तामाङ नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् । उनले सन् २०१३ मा ‘बाउन्सर’, ‘बडी गार्ड’, ‘लभ सब’, ‘मधुमास’, ‘ब्ल्याक फ्ल्याग’, ‘किल्ला’, ‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका नेपाली एक्सन चलचित्रहरूमा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा काम गरेका छन् । यस्तै, उनले ‘धन्य माया जाल’, ‘असुर द मिस्ट्री’ (हिन्दी) र ‘लप्पन छप्पन २’ जस्ता चलचित्रमा एक्सन निर्देशकको रूपमा काम गरिसकेका छन् ।
चलचित्रका कलाकार तथा क्रू सदस्यहरू नेपालबाट चाँडै नै छनौट गरिने निर्माण पक्षले जनाएको छ । यसका साथै, युरोप र युकेमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए । चलचित्रको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुनेछ ।