भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको हो ।
सोमबार चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । सार्वजनिक पोस्टरले उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।
अहिले पोस्टप्रोडक्सनको टेबुलमा रहेको यो चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो ।
चलचित्रमा नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।