निर्देशक हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार चलचित्रको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
सार्वजनिक सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ ।
अहिले पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्छ। चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी, कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।