‘के घर के डेरा : घर नं २’ : पहिलोपटक प्रिमियरमा सर्वसाधारण दर्शक

२ जेठ २०८२ ६:१८

भोलिदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।

सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले चलचित्र हेरेका थिए ।

प्रायः नेपाली चलचित्रको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ । यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा चलचित्र देखाइएको हो ।

यो चलचित्र हेरेपपछि सबैले उत्साहजनक प्रतिक्रिया दिए। चलचित्रलाई आम नेपाली नागरिकले हेर्नै पर्ने भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा चलचित्रमा रहेको प्रतिक्रिया मिलेको छ।

अभिनेता हरिवंश आचार्यले चलचित्रको प्राविधिक पक्षको खुलेर तारिफ गरे । ‘टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,’ उनले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै भनिन्, ‘चलचित्र निकै मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ ।’

अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । ‘मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,’ उनले भनिन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रले आक्रामक ब्यापार गर्ने निर्माणपक्षको विश्वास छ ।चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

यो चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।यो चलचित्रले घर र डेराको कथा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *