हिमाल न्यौपानेको निर्देशन रहेको चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।
निर्देशक न्यौपानेको यो डेव्यु चलचित्र हो । यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो। ‘सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । यसको सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।
नवीन गुरुङको डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ । यो चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन ।