‘के घर के डेरा २’ सहरको मौलिक कथा हो : दीपेन्द्र, खगेन्द्र र केकी

२९ वैशाख २०८२ १०:१६

यहि जेठ २ गते रिलिज हुने चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको यसका निर्माणपक्षले बताएका छन् । यो चलचित्रका निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए । गाउँका कथामात्रै नभएर सहरका कथा पनि मौलिक हुने खगेन्द्रको तर्क छ ।

‘नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,’ शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, ‘गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।’

सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । ‘सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ,’ उनी भन्छन्, ‘काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले सहरका कथा पनि हाम्रै हुन् ।’

निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ ।

‘गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,’ त्यसैले मेरा अधिकांश चलचित्र सरहका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक चलचित्र हुन् ।’

आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा : घर नं २’ बनेको उनले बताए । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उनले प्रष्ट पारे ।

त्यस्तै, केकीले अर्ग्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन् ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, कार्यकारी निर्माताको रूपमा युवराज कार्की र निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *