शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न गरिएको छ। बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।
यो चलचित्रको प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, सांसद असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, कलाकारहरू सुरज तमु, भावना खपाङ्गी मगर, निर्देशक नवीन चौहानलगायत सबैको सहभागिता रह्यो ।
चलचित्र हेरेपछि अतिथिहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् । “मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,” उनले भनिन् । अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । सांसद शोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक बताइन् । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन् ।
चलचित्रका कलाकारहरू पनि भाव विह्वल देखिए । विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन् । एलेक्स पारसले पहिलो चलचित्रबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए । परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् ।
आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ ।