आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘जार’ मा अभिनेता अनुपविक्रम शाहीले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । ।
इन्द्रबहादुर राईद्वारा लिखित कृति ‘जार’माथि बनेको यो चलचित्रको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको अभिनेता शाहीले बताए । उनले भने ‘धेरै पुरानो कृतिमा बनेको चलचित्रमा हुनु भनेको मेरा लागि गर्वको कुरा हो ।’
‘मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु, उनले थपे ‘जार’को हर्षजीत पात्रमा तयार हुन मैले अन्य चलचित्रमा भन्दा १० गुणा बढी मेहनत गरे ।’ गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ’जार’ उपयुक्त विकल्प रहेको उनको धारणा छ ।
यो चलचित्रको कार्यकारी निर्माता ज्योति क्षेत्री हुन् । चलचित्र ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोल्छ ।
फुर्वाछिरिङ लामा निर्देशित यो चलचित्रमा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको पनि मुख्य भूमिका छ ।