एक्सन चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरेका छन्। यो पटक रुपेशले बनाउने चलचित्र एक्सन जनाराकै हुने बताइएको छ। यो चलचित्रको लागि कलाकारहरूलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।
यसैबिच, यो चलचित्रको लिड रोलमा नायिका पूजा शर्मालाई निर्देशक तामाङले फाइनल गरेका छन्। रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुबन्धित गरेका हुन् ।
‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला चलचित्रमा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’ रुपेश भने।
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन चलचित्रमा फेरि काम गर्न मन थियो ।रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’
निर्देशक रुपेशका अनुसार, यसपटक चलचित्रमा कलाकारहरू सरप्राइज हुनेछन् । चलचित्रको नाम तय गरिएको छैन । केही दिनमै चलचित्रको नाम विकास बोर्डमा दर्ता गरेपछि सार्वजनिक गर्ने रुपेशले बताए । चलचित्रलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।