‘झिल्को’को ‘नाच पुतली’मा आश्माको आकर्षक नृत्य

२१ चैत २०८१ ८:४६

आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीतमा दुखी बालिकालाई फकाउँदै खुसी बनाउने प्रयास गरिएको छ। गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ ।

गीतको भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यसका साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ।

यो चलचित्र अहिलेको पुस्तामा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा यसले पेश गर्छ ।

‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *