हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । हिमालको यो डेव्यु निर्देशन हो।
आमा र छोराबीचको इमोस्नल कथा भन्ने यो चलचित्रले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्नेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन् । मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन् । साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ ।
त्यस्तै, यो चलचित्रमा अभिनेता सुशांक मैनाली पनि जोडिएका छन् । नेसनल अवार्ड विजेता अभिनेता मैनालीले ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने पक्का भएको छ ।
उनी अनुबन्धित भएसँगै लामो समयपछि नेपाली चलचित्रमा पुनः देखिने भएका छन् । उनले ‘साँगुरो’, ‘टलकजंग भेर्सस टुल्के’लगायत चलचित्रमा काम गरेका थिए ।
आगामी भदौ १० गते रिलिज हुने यो चलचित्रलाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा थानेश्वर गौतमको संगीत रहने बताइएको छ ।