नायिका दिव्या रायमाझी नयाँ चलचित्र ‘माया प्रीति’को प्रमुख भूमिकामा अनुबन्धित भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।
अवि श्रेष्ठले निर्देशन गर्ने यो चलचित्र रोमान्टिक कमेडी जनराको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठको निर्देशनमा यो डेब्यू हो ।
यो चलचित्रमा अनुबन्ध भएपछि दिव्या उत्साहित छिन् । उनले आफू नेपाली चलचित्रको संस्कारमा हुर्किएकी हुनाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् ।
वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।
चलचित्रको छायांकन चाँडै सुरु गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रको लागि अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ । दिव्याको पहिलो चलचित्र ‘एक्टर: टेक वन’ अहिले हलमा प्रदर्शन भइरहेको छ ।