दुःखी आत्मा ट्रेलरः युगौंदेखि म आँखाले प्यास मेटेर बाँचिरहेको छु’
२१ माघ २०८१ १०:५०
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । आज वसन्त पञ्चमीको अवर पारेर निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
चलचित्रको प्रदर्शन १० दिन बाँकी रहदा सार्वजनिक गरिएको ट्रेलरमा समावेश एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो कविताले पनि चलचित्रले के भन्न खोजेको हो वुझ्न सकिन्छ ।
ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।
हिमाल कडरियाको लगानी रहेको यो चलचित्रको यसअगाडि टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तानेको छ । चलचित्रमा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ ।
क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको चलचित्र फागुनको २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शन हुँदैछ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।