आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीत हाल नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १० मा रहेको छ ।
नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरू कतारमा नवौँ, युएईमा पच्चीसौँ र कुवेतमा एक्काइसौँ स्थानमा रहेको छ । यस गीतमा दसौँ हजारको सङ्ख्यामा टिकटिक र रिल्स बनेका छन् । विशेषतः गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ टिकटिक र रिल्समा चर्चित बनेको छ ।
यस गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ, जसमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।
यो चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको यो चलचित्रको निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ ।