कस्तो लाग्यो ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर ?
४ माघ २०८१ ९:२२
यही माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार यो चलचित्रको १ मिनेट ५६ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई जोड दिइएको छ । नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । ट्रेलरमा मिथिला संस्कृतिलाई पनि स्थान दिइएको छ ।
चलचित्रमा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।
दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्मातामा छन् ।
अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।