आगामी फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत चलचित्रका शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।
यो प्रतियोगितामा सहभागीहरुले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरुले चलचित्र ‘लाज शरणम्’को इमेल [email protected] मा पाठाउन सक्ने छन् ।
यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ। प्रतियोगिहरुले तयार पारेका भिडियोहरु भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ।
कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको चलचित्रमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।