प्रकाश फिचर्ड ‘वसन्त’को पोस्टर रिलिज

२२ पुष २०८१ ३:३२

गायन हुँदै चलचित्रमा प्रवेश गरेका कलाकार प्रकाश सपुतको प्रमुख भूमिका रहेको चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रका निर्देशक समेत रहेका सपुतले आइतबार पोस्टर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरमा प्रकाश स्वयम प्रस्तुत छन् । प्रकाशकै निर्माण, निर्देशनसहित अभिनय, लेखन, गायन र सङ्गीत रहेको यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै उनले निकै लामो स्टाटस लेखेका छन् ।

सपुतले लेखेका स्टाटस जस्ताको त्यस्तै,’मैले “वसन्त” मा म भित्रका सबै रङ्गहरू पोखेको छु । यदि वसन्त तपाईँलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सीमितता यही सम्म हो ! मैले यहाँ भन्दा थप केही जान्दिन । यसो भनौँ, म यो जन्मका लागी जम्मा जम्मी यत्ति नै हु ! वसन्त जत्ति !

अब बाकि कर्महरू यसकै निरन्तरता हुनेछन् । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जीवनमा अगाडि जुन कर्म गरे पनि त्यो वसन्तकै एउटा रङ्ग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मी यत्ति नै हु ! वसन्त जत्ति..

अनि सुन्नुस् न , हुन त बल्ल शिशिर रितु सुरु हुदैछ तर हामीलाई वसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुङ्गा लालीगुराँस तपाईँलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है’

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।

आगामी चैत २२ गते (अप्रिल ४)मा यो चलचित्र प्रदर्शन हुनेछ । चलचित्रमा कलाकार प्रकाश सपुतको साथमा अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेको समेत अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *