यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको पोस्टरमा कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएर हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ ।
पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । यो चलचित्रको यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र निर्माण छ । चलचित्रमा सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
आगामी पुस २६ गते पदर्शन हुने यो चलचित्रले शेर्पा समुदायको संस्कृतिको कथा भन्छ । चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ । चलचित्रको अन्तराष्ट्रिय वितरक अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।